सहमतिमा बजेट आओस्: राष्ट्रपति

पछिल्लोपल्ट अपडेट गरिएको: 01.07.12, 20:50 NST सम्मका समाचार

राष्ट्रपति रामवरण यादवले माओवादी अध्यक्षसँग राष्ट्रिय सहमति सहित बजेट ल्याइनुपर्ने बताएका छन्

राष्ट्रपति रामवरण यादवले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग बजेट अघि नै सहमति खोज्ने पहल गर्न आग्रह गरेका छन्।

दुईजनाबीच राष्ट्रपति निवासमा आइतबार साँझ भएको भेटवार्तामा समसामयिक राजनीति र जारी राजनीतिक गतिरोध अन्त्यबारे कुराकानी भएको बताइएको छ।

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार बजेटलाई निहुं बनाएर सहमति खोज्न राष्ट्रपतिले आग्रह गरेका छन्।

राष्ट्रपतिलाई उद्धृत गर्दै दाहालले भने, "संविधानको भावना र मर्म पालना गर्दै वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न सहमतिको खोजी गरियोस। बजेट राष्ट्रिय सहमतिकै आधारमा ल्याइयोस र त्यसको पहल प्रचण्डजीले गर्नोस।"

सहमतिको खोजी

राष्ट्रपतिले यस अघि प्रधानमन्त्री र अर्थमन्त्रीसँगको भेटवार्तामा सहमति सहित पूर्ण बजेट ल्याउन आग्रह गरिसकेका छन्।

मुख्य विपक्षी दलहरु नेपाली कांग्रेस र एमाले सहितको गठबन्धनले भने बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार कामचलाउ र चुनावी सरकारमा परिणत भइसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने चेतावनी दिँदै आएका छन्।

सर्वोच्चको निर्णय

"संविधानको भावना र मर्म पालना गर्दै वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न सहमतिको खोजी गरियोस्। बजेट राष्ट्रिय सहमतिकै आधारमा ल्याइयोस् र त्यसको पहल प्रचण्डजीले गर्नोस्"

राष्ट्रपतिलाई उद्धृत गर्दै राजेन्द्र दाहाल, राष्ट्रपतिका प्रेस सल्लाहकार

यसैबीच आइतबारै सर्वोच्च अदालतमा पूर्ण बजेट ल्याउन नदिन परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय गरेको छ।

सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलका अनुसार रीटका अन्य पाटोमा निर्णय हुन भने बाँकी नै छ।

संविधान जारी गर्न विफल भएपछि पाँच हप्ता अघि विपक्षीहरुको सहमति विना नयाँ निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री बजेटका कारण चेपुवामा परेको ठानिएको छ।

प्रधानमन्त्री पदबाट हटेपछि मात्रै सहमति बन्न सक्ने विपक्षी गठबन्धनको अडान र असार मसान्तसम्म नयाँ आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने समयसीमाका कारण आगामी दुई साता राजनीतिक चहलपहल तीव्र बन्दै जाने देखिन्छ।

BBC © 2013 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।