‘अर्को सहमतिको विकल्प छैन’

पछिल्लोपल्ट अपडेट गरिएको: 20.06.12, 20:54 NST सम्मका समाचार
प्रमुख पार्टीहरुको बैठक

प्रमुख पार्टीहरुबीच यस अघि भएका बैठकहरुबाट अहिले सम्म निकास निस्कन सकेको छैन

संविधानसभा विघटन पछि चारतिर मुख फर्काउँदै हिंडेका प्रमुख चार राजनीतिक शक्तिहरुबीच पहिलो पटक भेटवार्ता भएको छ।

उक्त भेटवार्तामा नेपाली काँग्रेस र नेकपा एमालेले प्रमुख दलका शीर्ष नेताहरुबीच गत वैशाख २१ गते भएको पाँच बुँदे सहमतिबाटै अघि बढ्नु पर्ने प्रस्ताव राखेका थिए।

उक्त प्रस्तावमा माओवादी सकरात्मक देखिएको बैठकका सहभागीहरुले बताएका छन्।

"पाँच बुँदेमै टेकेर अघि बढ्न सकिन्छ कि सकिंदैन भन्ने सवालमा एकीकृत माओवादी नकारात्मक देखिएन र उसले यही सरकारलाई टिकाई राख्नु पर्छ भन्ने अडानमा नरहेको बताएको छ"

भीम रावल, नेता, नेकपा एमाले

नेपाली काँग्रेसको पहलमा उसकै कार्यालय सानेपामा भएको बैठकमा संविधानसभा विघटन पछि पहिलोपल्ट एक ठाउँमा उभिएका प्रमुख दलका शीर्ष नेताहरुले विगतमा जे जस्ता गल्ती भएपनि फेरि अर्को सहमतिको विकल्प नभएको जनाएका थिए।

समीक्षा

बैठकमा संविधानसभा विघटन हुनुको कारण र अरु दलहरुसँग सहमति नै नगरी घोषणा गरिएको अर्को संविधानसभाको चुनाव लगायत विषयमा प्रारम्भिक समीक्षा भएको सहभागी नेताहरुले बताए।

नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने जस्ता विषय समेटेर भएको पाँच बुंदे सहमतिमै टेकेर अघि बढ्न राखिएको प्रस्तावमा माओवादी नकारात्मक नदेखिएको बैठकका एकजना सहभागी तथा एमाले नेता भीम रावलले बताए।

रावलले भने, “पाँच बुँदेमै टेकेर अघि बढ्न सकिन्छ कि सकिंदैन भन्ने सवालमा एकीकृत माओवादी नकारात्मक देखिएन र उ यही सरकारलाई टिकाई राख्नु पर्छ भन्ने अडानमा नरहेको बताएको छ। ”

"सहमतिका लागि काँग्रेसले लिएको अग्रसरताका लागि मैले उक्त पार्टीलाई धन्यवाद दिएँ, यो सही शुरुवात हो र यसले अब निरन्तरता पाउँछ"

प्रचण्ड, अध्यक्ष, एकीकृत माओवादी

बैठकपछि एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सहमतिका लागि शुरु भएको छलफल आफैमा महत्वपूर्ण भन्दै यसलाई निरन्तरता दिईने संवाददाताहरुलाई बताए।

प्रचण्डले भने, “सहमतिका लागि काँग्रेसले लिएको अग्रसरताका लागि मैले उक्त पार्टीलाई धन्यवाद दिएँ, यो सही शुरुवात हो र यसले अब निरन्तरता पाउँछ।”

तर नेपाली काँग्रेस र एमालेले भनेजस्तो आफुहरु पहिचना सहितको संघीयता, संघीयता सहितको संविधान र शासकीय स्वरुपमा सहमति नगरी सरकार छोड्न तयार नरहेको माओवादीकै अर्का नेता अग्नि सापकोटाले बीबीसीलाई बताए।

आशंका

बैठकपछि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सहमतिको मूल प्रस्थान बिन्दुकै बारेमा टुङ्गो लाग्न बाँकी रहेको बताए।

संविधानसभाको अवसानसँगै प्रमुख दलहरुबीच बढेको चिसोपनालाई यो भेटघाटले केही कम गर्न सक्ने ठानिए पनि दलहरुबीचका आगामी बैठकहरु विद्यमान संवैधानिक र राजनीतिक शून्यता हल गर्न तत्काल सफल हुनेमा आशंकाहरु कायमै छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।