सहमतिका लागि थप पाँच दिन

पछिल्लोपल्ट अपडेट गरिएको: 17.04.12, 20:36 NST सम्मका समाचार
संविधान सभा

दलहरुले पाँच दिन भित्र सहमति नजुटाए संविधानसभाले वहुमतका आधरामा निर्णय लिने छ

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बढिमा पाँच दिनभित्र संविधानका बिवादित विषयमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरुलाई मंगलबार अन्तिम मौका दिएका छन्।

पाँच दिन भित्र सहमति जुटाउन नसके संविधानसभाले बहुमतका आधारमा विवादित विषयको टुंगो लगाउने जानकारी सभामुखले नेताहरुलाई गराएका छन्।

संवैधानिक समितिको बैठकमा नेताहरुले समय मागेपछि सभामूखले बुधवार कार्य ब्यवस्था समितिको बैठकबाट त्यसबारे औपचारिक निर्णय लिने बताए।

अन्तिम मौका

संविधानको पहिलो मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको संवैधानिक समितिको बैठकमा उपस्थित प्रमुख दलका शीर्ष नेताहरुले छलफलहरु सकरात्मक रुपमा अघि बढेको भन्दै केही दिनको समय दिन सभामुख सुवास नेम्वाङलाई आग्रह गरेका थिए ।

"पाँच दिनको अन्तरालमा संविधानसभाको बैठक वस्ने भएकाले त्यतिञ्जले सहमती कायम गर्न समय दिने सहमति भएको छ "

टेकप्रसाद ढुंगाना, सल्लाहकार, संविधानसभा सचिवालय

दुई दिनसम्म चलेको हात्तिबन बैठकले आफूहरुबीचका मतान्तर साँघुरो बनाउँदै लगेकाले सहमति जुट्ने विश्वास नेताहरुले व्यक्त गरेपछि सभामुखले पाँच दिन भित्र समाधान पहिल्याउन अन्तिम मौका दिएका हुन् ।

बैठकबारे संविधानसभाका सल्लाहकार टेकप्रसाद ढुंगानाले भने, “पाँच दिनको अन्तरालमा संविधानसभाको बैठक वस्ने भएकाले त्यतिञ्जले सहमती कायम गर्न समय दिने सहमति भएको छ ।”

विवादित विषय

संविधानका पाँचवटा मुख्य विषयहरु मुलुकको संघीय संरचना, शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणाली एवं नागरीकताका विषयमा प्रमुख दलहरुबीच सहमती हुन सकेको छैन ।

यी विषयमा नेताहरुले पाँच दिनभित्र सहमती जुटाउन नसके संविधानसभाले कसरी विवाद टुंगाउँछ भन्ने प्रश्नमा सल्लाहकार ढुंगानाले थपे, “सहमति हुन नसके संवैधानिक समितिले विवादहरु संविधानसभामा पेश गर्छ र त्यहाँ बहुमतका आधारमा निर्णय हुन्छ।”

यसअघि संविधानसभाले मंगलवारसम्ममा विवादित विषयमा सहमती कायम गर्न प्रमुख दलहरुलाई समय दिएको थियो । तर त्यो संभव नभएपछी समयमावधि लम्बाउन लम्बाइएको हो ।

कथंकदाचित थप अबधीमा पनि सहमती बन्न सकेन भने संविधानका कयौं संवेदनशिल विषयहरुमा बहुमतका आधारमा निर्णयहरु लिनुपर्ने हुन्छ, जसले भावी बाटोलाई जटील बनाई दिन सक्ने चिन्ता बढाइदिएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।