'सम्मानजनक समायोजन नभए अवकाश'

पछिल्लोपल्ट अपडेट गरिएको: 09.04.12, 19:51 NST सम्मका समाचार
माओवादी लडाकु

समायोजनका विषयमा माओवादीको सैनिक र राजनीतिक नेतृत्वबीच विवाद देखिएको छ

समायोजनमा जाने लडाकुहरुलाई बिहीबारसम्म नेपाली सेनाको जिम्मा लगाउने माओवादी शीर्ष नेतृत्वको प्रतिवद्धताकाबीच एक लडाकु कमाण्डरले सम्मानजनक समायोजन नभए आफुहरुले सामूहिक अवकाशको निर्णय लिन सक्ने बताएका छन्।

समायोजनकै विषयमा माओवादीको सैनिक र राजनीतिक नेतृत्व बीच रहेको मतान्तरले गर्दा आइतबारदेखि शुरु भएको दोस्रो चरणको स्वेच्छिक अवकाश र पुनर्स्थापना कार्यक्रम रोल्पामा बाहेक अन्यत्र अवरुद्ध भएको छ।

माओवादीको शीर्ष नेताहरुले छिट्टै शान्ति प्रक्रिया टुङ्गिने आश्वासन दिइरहँदा समायोजनमा जाने लडाकुको सूची तयार पार्ने जिम्मा पाएका कमाण्डरहरु भने समायोजनमा जाने वा नजाने बारेमा स्पष्ट देखिंदैनन्।

कठोर निर्णय

"सम्मानजनक भएन भने समायोजन हुँदैन र प्राय सबै स्वेच्छिक अवकासमा जान्छन, अनि क्याम्प खाली गर्छौं "

यमबहादुर अधिकारी 'प्रतीक्षा', माओवादी कमाण्डर

ईलामको चुलाचुलीस्थित माओवादी शिविरका कमाण्डर यमबहादुर अधिकारी "प्रतीक्षा" ले सम्मानजक समायोजन हुने अवस्था नआए लडाकुहरुले कठोर निर्णय लिई क्याम्प खाली गर्न सक्ने बताए।

उनले भने, “सम्मानजनक भएन भने समायोजन हुँदैन र प्राय सबै स्वेच्छिक अवकाशमा जान्छन, अनि क्याम्प खाली गर्छौ।”

अर्का कमाण्डर सन्तु दरैले समायोजन प्रक्रिया बहिष्कार गर्ने सम्भावना नरहे पनि लडाकुहरुको माग सम्बोधन नभए समायोजन रोज्नेको संख्या कम हुने बताए।

उनले भने, “भनेको जस्तो भएन भने स्वेच्छिक अवकासमा जानेको संख्या बढी हुने सम्भावना छ।”

प्रभावित

सोमबार रोल्पाको दहवन शिविरमा रहेका ९० जना माओवादी लडाकुले स्वेच्छिक अवकाश रोजेको विशेष समिति सचिवालयका अधिकारीले बताएका छन्।

अन्य शिविरमा भने स्वेच्छिक अवकाशको प्रक्रिया प्रभावित भएको छ।

विशेष समिति सचिवालय संयोजक बालानन्द शर्माले पनि माओवादीको आन्तरिक मतभेदका कारण सचिवालयको काम प्रभावित भएको जानकारी दिए।

उनले कमाण्डरहरुको माग सकारात्मक तरिकाबाट सम्बोधन नभए समायोजनमा जानेको संख्या कम हुन सक्ने सम्भावना रहेको बताए।

काठमाण्डूस्थित हाम्रा एकजना संवाददाता भन्छन्, समायोजनमा जाने लडाकुको दर्जा र मापदण्ड बारे जारी विवाद कायमै रहनाले अबको तीन दिन भित्र सक्ने भनिएको सेना समायोजनको काम पुरा नहुने जस्तो देखिन्छ ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।