कर्णेलसम्म पाए स्वीकार्य: माओवादी

पछिल्लोपल्ट अपडेट गरिएको: 24.02.12, 10:46 NST सम्मका समाचार
माओवादी लडाकुहरु

माओवादी लडाकुहरुको दर्जा बारे कुरा मिल्न बांकी छ

समायोजनमा जाने आफ्ना लडाकुका निम्ति ब्रिगेडियर जर्नेल (सहायक रथी) पद दावी गरिरहेको एकीकृत नेकपा माओवादी कर्णेल पद पाए चित्त बुझाउन तयार भएको छ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका माओवादी पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले उक्त जानकारी दिएका हुन्।

बीबीसी नेपाली सेवालाई बिहिवार अन्तर्वार्ता दिँदै उनले भने, "हामीले कर्णेलसम्म भनेका छौं, अन्य पार्टीहरुले मान्नुहुन्छ भन्नेमा हामी आशावादी छौं।"

लचिलो

पौडेलले लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) नभई फुल कर्णेल (महासेनानी) चाहेको बताए।

अन्य दल र नेपाली सेनाले मेजरभन्दा माथिको पद दिन नसकिने बताउँदै आएका छन्।

सल्लाहकार पौडेलले भने, "समस्या त छ, तर यो विलय नभई समायोजन भएकाले दुबै सेनाको संरचनाको सम्बोधन हुने गरी समायोजन हुनु पर्‍यो भन्ने हाम्रो भनाई हो।"

त्यसैले कांग्रेस र एमाले लचिलो हुनु पर्ने उनको भनाइ थियो।

छलफल

"हामीले कर्णेलसम्म भनेका छौं, अन्य पार्टीहरुले मान्नुहुन्छ भन्नेमा हामी आशावादी छौं"

देवेन्द्र पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

उनको विशेष जोड कांग्रेस र एमाले मेजरभन्दा माथिल्लो पद दिन तयार हुनुपर्नेमा थियो।

त्यसको अर्थ उनीहरु एक तह माथिल्लो दर्जा दिन तयार भएमा माओवादी पनि महासेनानीको साटो प्रमुख सेनानीमा चित्त बुझाउन तयार हुन्छ? भन्ने प्रश्नको जवाफमा पौडेलले भने, "मेजरभन्दा माथि जानै सकिन्न भन्ने बटमलाईन उहाँहरुले बनाउन हुन्न, हामीले पनि सहमतिमा जाने हो भने धेरै कुरा टुंग्याई सकेपछि कहीं न कहीं कम्प्रोमाइजको बिन्दू खोजेर हल खोज्नु पर्छ।"

त्यसबारे प्रधानमन्त्री भट्टराई र प्रचण्डबीच पनि कुराकानी भएको र दुबैले असन्तुष्ट खेमाका नेता मोहन वैद्यसँग कुरा गरेको पनि पौडेलले बताएका छन्।

BBC © 2012 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।