
गुप्तालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको हो
पार्टी अध्यक्ष जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचारको आरोपमा जेल चलान गरिएको २४ घण्टा बितीसक्दापनि सबै केन्द्रिय सदस्यहरु काठमाण्डौं आईनपुगेको भन्दै फोरम गणतान्त्रिकले औपचारिक बैठक गर्न सकेन।
बुधबार दिनभरी अनौपचारिक छलफलहरु चलेका थिए।
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय कोषाध्यक्ष एवं सूचना तथा सञ्चार राज्य मन्त्री सुरिताकुमारी शाहले भनिन्, सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दागर्दैपनि मधेशको लागि उक्त फैसला खेदजनक छ।
"सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दागर्दैपनि मधेशको लागि उक्त फैसला खेदजनक छ। "
फोरम गणतान्त्रिकका केन्द्रिय कोषाध्यक्ष एवं सूचना तथा सञ्चार राज्य मन्त्री सुरिताकुमारी शाह
फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारी भईरहेको पनि उनले जनाइन्।
तर अदालतका अधिकारीहरु चाहिं फैसलामा कुनै गम्भीर त्रुटी भएको औंल्याईए वा मुद्दासम्बन्धी नयाँ महत्वपूर्ण तथ्य भेट्टिएमा मात्रै त्यस्तो पुनरावलोकनले गम्भीर अर्थ राख्ने बताउंछन्।
सजाय
आफु विभिन्न सरकारी पदमा रहंदा भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएको मुद्दामा सर्वोच्च अदालतले मंगलबार सूचना तथा सन्चार मन्त्री गुप्तालाई डेढ वर्ष कैद तथा ८४ लाख रुपियाँ जरीवानाको सजाय सुनाएको थियो।
संविधानसभामा रहेका पूर्व मन्त्री गुप्ताको दलका तेह्रजना सभासदहरु सर्वोच्चको फैसलाको विरोधमा आन्दोलन गर्ने वा नगर्नेबारे अलमलमा परेका छन्।
गुप्ताको पार्टी संलग्न रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अदालतको फैसलाबारे पहिले फोरम गणतान्त्रिकको प्रतिक्रिया हेरेर मात्रै आफ्नो धारणा बनाउने मोर्चा सम्बद्ध दलका नेताहरुले बताएका छन्।
तर विगत केही वर्ष यता सर्वोच्च अदालतले गरेका विभिन्न फैसलाहरुले मधेशप्रति पूर्वाग्रह राखेको शंका आफुहरुलाई गम्भीर रुपले लागेको उनीहरुले बताए।
फोरम लोकतान्त्रिकका महासचिव जीतेन्द्र देवले भने, उपराष्ट्रपतिको भाषा सम्बन्धी फैसला होस् वा हालै नेपाली सेनामा मधेशी युवाको भर्ना गर्ने बारेको फैसला होस् मधेशमा अदालतप्रति विश्वासको संकट रहेको अनुभव हुन्छ।
मोर्चा बाहिरको अर्को प्रमुख तराई केन्द्रित दल मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले चाहिं अदालतको फैसलाको स्वागत गरेका छन्।

