'सेनाको तालिकाभित्रै समायोजन प्रकृया शुरू हुन्छ’

पछिल्लोपल्ट अपडेट गरिएको: 20.02.12, 22:08 NST सम्मका समाचार
पूर्व माओवादी लडाकुहरु

समायोजन प्रकृया छिट्टै शुरु हुने बताइएको छ

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड निकट एक नेता हरिबोल गजुरेलले लडाकुहरुको समायोजन प्रकृया सेनाले बनाएको तालिका भित्रनै शुरु हुने बताएका छन्।

सेनाले आफ्नो प्रस्तावमा एक साताभित्र समायोजन प्रकृया शुरु हुने र चैत्र १५ गतेभित्र ‘ब्रिजिङ्ग कोर्षको’ थालनी गर्ने तालिका बनाएको सोमबार प्रकाशित समाचारहरुमा उल्लेख छ।

माओवादीले अन्य दलसंग अनौपचारिक बैठकमा ढीलोमा फागुन मसान्तसम्म समायोजन प्रकृया थालनी गर्ने प्रतिबद्बता जनाउँदै आएको छ।

मंगलबार बस्ने स्थायी समितिको बैठकले समायोजन सम्बन्धी आन्तरिक विवाद हल गरि अन्य दलसंग सहमति जुटाउन मार्ग प्रशस्त गजुरेलले बताए।

उनले भने, “भोलि हाम्रो स्थायी समितिको बैठकले यस विषयमा गम्भीर छलफल गर्दैछ र मलाई लाग्छ त्यसले आन्तरिक समस्या समाधान गरी बाहिरी समस्या समाधान गर्न केही निकास दिन्छ।”

‘काङ्ग्रेस र एमाले लचिलो’

माओवादीले कम्तीमा एक सहायक रथी पद र मानार्थ भए पनि केही उच्च पद लडाकुलाई दिनु पर्ने माग राख्दै आएको छ।

" समस्या समाधान गर्न हामी पनि लचिलो हुन्छौं भनी काङ्ग्रेस र एमालेले अनौपचारिक छलफलमा भन्दै आएका छन् "

हरिबोल गजुरेल, एकजना माओवादी नेता

अनौपचारिक छलफलमा आफ्नो दलको मागको नेपाली काङ्ग्रेस र नेकपा एमालेले विरोध नगरेको गजुरेलले बताए।

उनले भने, “समस्या समाधान गर्न हामी पनि लचिलो हुन्छौं भनी काङ्ग्रेस र एमालेले अनौपचारिक छलफलमा भन्दै आएका छन्।”

तर सेनाको उक्त प्रस्ताव अहिलेसम्म सेना समायोजन विशेष समितिमा औपचारिक रुपमा नआएको काङ्ग्रेस नेता तथा विशेष समिति सदस्य रामशरण महतले बताए।

विगतको अनुभवले गर्दा छिट्टै उक्त प्रकृया शुरु हुनेमा आफु आशावादी नभएपनि माओवादीले कुरा अगाडि बढाए शान्ति प्रकृयाको निम्ति त्यो सकारात्मक कदम हुने उनको भनाइ थियो।

“एकै हप्तामा हुन्छ भन्ने कुरा चाहिं विगतको अनुभवले मैले संभव देख्दिनं, तर प्रकृया शुरु भयो भने चाहिं यो सकारात्मक कदम हुन्छ र यसले धेरै हदसम्म शान्ति प्रकृयामा रहेको ठूलो अप्ठेरो हटाउने छ,” उनले भने।

‘एक साता पर्याप्त’

तर विशेष समितिले निर्णय गरे एक साताको समय प्राविधिक रुपमा समायोजन प्रकृया शुरु गर्न पर्याप्त हुने विशेष समिति सचिवालय सदस्य दिपक भट्टले बताए।

“विशेष समितिले निर्णय ग-यो भने त्यो समयमै कार्यान्वयन गर्न सकिन्छ। विशेष समिति सचिवालयले यस विषयमा गर्ने धेरै छैन। यस सम्बन्धमा मुख्य जिम्मेवारी नेपाली सेनाले लिई सकेको छ,” भट्टले भने।

जेठ १४ नजिकिंदै जाँदा माओवादीले इमानदारी देखाए काङ्ग्रेस र एमालेपनि थप लचकता प्रर्दशन गर्ने मनस्थितिमा रहेको विश्लेषकहरूको बुझाइ छ।

BBC © 2012 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।