पछिल्लोपल्ट अपडेट गरिएको: 04.02.12, 20:46 NST सम्मका समाचार

आयोगको बहुमतको प्रतिवेदन सही: माओवादी

maoists office

माओवादीले राज्यको पुनर्संरचना आयोगले तयार पारेको रिपोर्टको समर्थन गरेको छ

विपक्षी दलहरुले राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनप्रति असन्तुष्टी जनाइरहेका बेला प्रमुख सत्तारुढ दल माओवादीले त्यसको समर्थन गरेको छ।

सात शीर्ष नेता सदस्य रहेको माओवादी पदाधिकारीको शनिबारको बैठकले राज्य पुनर्संरचना सुझाव आयोगले प्रतिवेदन तयार गर्दा अपनाएको सिद्धान्त सही रहेको भन्दै प्रतिवेदनलाई सदर गरेको हो।

आयोगकै अल्पमत पक्षले दिएको रिपोर्ट भने सिद्धान्तगत रुपमै आफुहरुसँग नमिल्ने ठहर पनि माओवादीले गरेको छ।

समर्थन

बैठकमा सहभागी माओवादी नेता देव गुरुङ भन्छन्, "अल्पमतको रिपोर्ट सैद्धान्तिक रुपमै हामीले समर्थन गर्न मिल्दैन, तर बहुमतले दिएको रिपोर्ट भने सिद्धान्तगत रुपमा सही छ।"

तर दलितहरुका लागि गैर भौगोलिक प्रदेश बनाउने र शेर्पा र जडान क्षेत्र नराख्ने एवं नारायणी क्षेत्रलाई टुक्र्याउने भन्ने आयोग मार्फत आएका नयाँ धारणा प्रति भने आफुहरुको भीन्न मत रहेको नेता गुरुङले बताए।

प्रतिवेदन

आयोगले झण्डै दुइ महिना काम गरेपछि यसै साता सरकारलाई आफ्नो प्रतिवेदन पेश गरेको थियो।

आयोगका सदस्यहरुमध्ये माओवादी मधेशी मोर्चा र एमालेले पठाएका दुइ गरी ६ जना एकातिर बसेर बहुमतको प्रतिवेदन र कांग्रेस र एमालेका गरी तीन जनाले अल्पमतको प्रतिवेदन सरकारलाई बुझाएका थिए।

अल्पमतको रिपोर्ट सैद्धान्तिक रुपमै हामीले समर्थन गर्न मिल्दैन, तर बहुमतले दिएको रिपोर्ट भने सिद्धान्तगत रुपमा सही छ

देव गुरुङ, नेता, एकीकृत माओवादी

विपक्षी दलहरुले आयोगको बहुमतको प्रतिवेदन प्रति असन्तुष्टी जनाउँदै आएका छन्।

मधेशी मोर्चाका तर्फबाट मनोनित आयोग सदस्यले बहुमतको प्रतिवेदन बनाएको भएपनि सत्तारुढ केहि मधेशी नेताहरुले आयोगको प्रतिवेदनको विरोध शुरु गरेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।