पछिल्लोपल्ट अपडेट गरिएको: 27.01.12, 20:51 NST सम्मका समाचार

लडाकु विदाइ र समायोजनका कामलाई गति दिने सहमति

माओवादी लडाकुहरु

दलहरुबीच थप सहमति भए लडाकुको विदाई र समायोजन कार्य अघि बढ्न सक्छन्

लामो समय पछि बसेको माओवादी सेना समायोजन विशेष समितिको वैठकमा स्वैच्छिक अवकासमा जान चाहाने माओवादी लडाकुहरुको विदइ प्रक्रिया तीन दिनपछि थाल्ने सहमति भएको छ।

पुष महिना भित्रै गरिने भनिएको सो काम आउने माघ १७ गतेबाट हुने जानकारी, शुक्रबारको विशेष समितिको वैठक पछि दिइएको हो।

स्वैच्छिक अवकासमा जाने लडाकुहरुको विदाइको तयारी संगै समायोजनको तयारी पनि शुरु हुने विशेष समितिका एक माओवादी सदस्यले बताए।

पछिल्ला सहमतिहरुको पालना नभएको भन्दै प्रतिपक्षीहरुको तीब्र आलोचनाका माझ स्वैच्छिक अवकासमा जानेहरुको विदइ र समायोजनको तयारीमा थप ढिलइ हुन नदिने सहमति भएको विशेष समितिका एक सदस्य, माओवादी सैन्य इन्चार्ज एवं अर्थ मन्त्री वर्षमान पुनले संवाददाताहरुलाई बताए।

‘छिट्टै’

“विदाईको तयारीका लागि सचिवालयका सदस्यहरुलाई शिविरमा पठाइहाल्ने, समायोजन तयारी गर्न अर्को वैठकमा नेपाली सेनालाई निर्देशन दिने सहमति भएको छ।”

उनका अनुसार नेपाली सेनामा समायोजनका लागि आवश्यक प्रक्रिया पनि छिट्टै शुरु गर्न प्रधानमन्त्री तयार छन्।

विदाईको तयारीका लागि सचिवालयका सदस्यहरुलाई शिविरमा पठाइहाल्ने, समायोजन तयारी गर्न अर्को वैठकमा नेपाली सेनालाई निर्देशन दिने सहमति भएको छ

वर्षमान पुन, विशेष समिति सदस्य एवं अर्थ मन्त्री

केहि समय अघि भएको माओवादी लडाकुहरुको पुनवर्गीकरणका क्रममा ७,००० भन्दा बढीले स्वैच्छिक अवकास रोजेका थिए।

९,५०० भन्दा बढीले नेपाली सेनामा समायोजनमा जाने विकल्प रोजेका थिए भने ‌औंलामा गन्न सकिनेले मात्र पुनर्स्थापनाको बाटो रोजेका थिए।

तर माओवादीको आन्तरिक किचलोका माझ पुष भित्रै शुरु हुने भनिएको स्वैच्छिक अवकासमा जान चाहानेहरुको विदाई गर्ने लगायतका सहमति पालना हुन सकेनन्।

‘आपत्ती’

शुक्रबारको वैठकमा प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले सहमति कार्यान्वयन नगर्ने माओवादी परिपाटीको आलोचना गरेको विशेष समितिमा रहेका नेपाली कांग्रेसका नेता रामशरण महतले बताए।

“सहमति पालना नगरेकोमा हामीले आपत्ती जनायौं, असहमति जनायौं।”

सहमति पालना नगरेकोमा हामीले आपत्ती जनायौं, असहमति जनायौं

रामशरण महत, नेता नेपाली कांग्रेस

स्वैच्छिक अवकासमा जाने लडाकुहरुलाई विदाइ गर्नको निम्ति भन्दै सरकारले केही समय अघि करिव दुई अर्ब रुपैंयाँ निकासा गर्ने निर्णय गरेको थियो

शुक्रबारको वैठकपछि विदाइ र समायोजनका काम अघि बढ्ने कुरामा झिनो आशा पलाएको छ।

तर समायोजनको लागी दर्जा मिलान लगायतका विषयमा दलहरुबीच तीब्र मतभेद कायमै छ।

BBC © 2012

बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।