
चार्ल्स शोभराज विरुद्ध पुनरावेदन अदालतले गरेको फैसला सर्वोच्चले सदर गरेको हो
पुनरावेदन अदालतले यस अघि गरेको फैसला सदर गर्दै सर्वोच्च अदालतले शुक्रबार शोभराजको विरुद्ध सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको हो।
तीन दशक पहिले काठमाण्डौं उपत्यकामा एकजना अमेरिकि महिलाको हत्या गरेको आरोप लागेका शोभराज गएको ६ वर्षदेखि नेपालको जेलमा थिए।
जिल्ला देखि पुनरावेदन अदालतसम्मले उनको आरोप प्रमाणित भएको निर्णय दिएपछि उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
जसको निर्णय शुक्रबार सुनाइएको थियो।
न्यायाधीशद्वय गौरी ढकाल र रामकुमार प्रसाद शाहको संयुक्त इजलासले उक्त निर्णय सुनाएको थियो।
पाटन पुनरावेदन अदालतले शोभराजलाई सर्वस्व सहित जन्मकैदको सजाय दिएको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ, सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले बताए।
पुनरावलोकन
अब हाम्रो अगाडि एउटामात्रै बाटो बाँकि छ। प्रमाणहरुको राम्ररी मूल्यांकन भएन भनेर हामी सर्वोच्चमै पुनरावलोकनको निम्ति जान्छौं।
रामबन्धु शर्मा, शोभराजका एकजना वकिल
सर्वोच्चले गरेको फैसला चित्त नबुझेको शोभराजका वकिलहरुले बताएका छन्।
फैसलाका विरुद्ध फेरि सर्वोच्चकै ढोका ढकढक्याउने उनका एकजना वकिल रामबन्धु शर्माले बताए।
अब हाम्रो अगाडि एउटामात्रै बाटो बाँकि छ। प्रमाणहरुको राम्ररी मूल्यांकन भएन भनेर हामी सर्वोच्चमै पुनरावलोकनको निम्ति जान्छौं, शर्माले भने।
अन्तर्राष्ट्रिय रुपमै कुख्यात बनेका चार्ल्स शोभराजको मुद्दामा निर्णय सुनाइने भनिएपछि शुक्रबार सर्वोच्चको परिसरमा निकै भींडभाड थियो।
फैसलापछि शोभराजकी पत्नी निहिता विश्वास तथा शोभराजका एकजना वकिल तथा सासु शकुन्तला थापाले त्यसको विरुद्ध चर्को प्रतिक्रिया सञ्चार माध्यमलाई दिएका थिए।
