भारत र पाकिस्तानबीच विवादीत सिमानाको जीवन

8 जनवरी 2014 अन्तिम पटक अपडेट गरिएको समय 12:48 NST

भारत र पाकिस्तानबीच विवादीत सिमानाको जीवन
लाइन अफ कन्ट्रोलको एउटा बंकरमा भारतीय सैनिक
काश्मिरलाई भारत र पाकिस्तानबीच विभाजीत गर्ने विवादीत सिमारेखा, संसारमा सबैभन्दा बढी सैनिकीकृत गरिएको सिमाना मध्येको एक हो। नियन्त्रण रेखा, Line of Control भनिएको ७४० किलोमिटर लामो सिमानामा दुवै पक्षका दशौं हजार सैनिकहरु तैनाथ छन्। फोटोग्राफर अबिद भट्ले भारत नियन्त्रीत कश्मिरको नियन्त्रण रेखामा यात्रा गरेर, त्यहांको जनजीवनलाई क्यामरामा कैद गरेका छन्। सबै तस्वीर: अबिद भट
काश्मिरी मुसलमान बालिका र गस्तीमा रहेका भारतीय सैनिक
यो सिमाना भारत र पाकिस्तान अस्तित्वमा आएदेखि नै दुई पक्षिय विवादको स्रोत रहंदै आएको छ।
श्रीनगरबाट १२५ किलोमिटर उत्तरमा अवस्थीत उरीमा रहेको शिविरमा खानेकुरा पकाउंदै एकजना भारतीय सैनिक।
भारत र पाकिस्तानबीच भएको तीन वटा मध्ये दुईवटा युद्ध काश्मिरको विवादलाई लिएर भएको थियो। पहिलो सन् १९४७-४८ मा, दोस्रो १९६५ मा। तर लडाईंबाट निष्कर्ष ननिस्केपछि यथास्थिती कायम रहंदा सन् १९७१ मा फेरि द्वन्द्व शुरु भएको थियो। त्यस पश्चात भएको वार्ता र सहमति पछि सन् १९७२ मा लाइन अफ कन्ट्रोलको सिर्जना गरिएको थियो।
उरी नजीक लाइन अफ कन्ट्रोलमा गस्ती गर्दै भारतीय प्रहरी
हालै सिमा क्षेत्रमा भएको हिंसात्मक घटनापछि यि दुई दक्षिण एशियाली छिमेकीहरुबीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको छ। हिंसामा दुवै पक्षका सैनिकहरुको ज्यान गएको छ। गत अगस्टमा भएको घटनामा पांचजना भारतीय सैनिक मारिएका थिए।
बांया पाकिस्तान र दायां भारत नियन्त्रीत कश्मिर पारेर बगीरहेको नदी
दुई देशबीचको सिमाना जंगल भएको पहाड र अप्ठ्यारो भूक्षेत्रमा पर्दछ। कतिपय स्थानमा त लाइन अफ कन्ट्रोलले उदेक लाग्ने गरी गाउंहरुलाई नै दुई भागमा बांड्नुका साथै पहाडहरुलाई नै विभाजीत गरिदिएको छ। तस्वीरमा भारत र पाकिस्तान बिचको डांडाबाट एउटा नदी बग्दैछ।
भारतले तयार पारेको तारबार
भारतले पाकिस्तान तर्फबाट घुसपैठ नहोस् भनी सन् २००४ मा सिमानामा तारबार निर्माण गरेको थियो। दुवै पक्षबीच फाट्टफुट्ट गोली हानाहानको घटना हुने गरेकोमा सन् २०१३ मा भएको त्यस्तो घटनाले चर्को रुप लिएको थियो।
सिमाना नजीकको चौरंदा गाउंमा काश्मिरी मुसलमान परिवार।
विवादित सिमानामा हजारौं परिवारहरु बसोबास गर्ने गर्छन्।
चोट लागेर अंगभंग भएको खुट्टा देखाउंदै इरशाद अहमद।
सिमा वारपार हुने गोलाबारीले स्थानीय बासिन्दाहरु माझ डरको वातावरण सिर्जना गरिदिएको छ। इरशाद अहमद जस्ता स्थानीयबासिन्दा त्यस्तो गोलीबारीमा घाइते हुने गर्दछन्।
साइमा चल्कु, सिमाना नजीक चिलिकोटमा रहेको प्राथमिक विद्यालयमा पढाउंदै।
साइमा चल्कुले सिमा नजीकैको खुला क्षेत्रमा रहेको प्राथमिक विद्यालयमा पढाउने गर्छिन्। सन् २००३ मा दुवै छिमेकीबीच युद्धविराम सम्झौता हुनु अघि आफूहरु निरन्तर डरको वातावरणमा जीउनु पर्ने चल्कुले बताइन्।
खुला विद्यालयमा पढीरहेका काश्मिरी मुसलमान बालबालिकाहरु।
नजीकको गाउंबाट साइमा चल्कुको विद्यालयमा पढ्न आएका विद्यार्थीहरु अबको बर्षमा स्थितीमा केहि सुधार आउने आशा व्यक्त गर्दछन्।
भारत प्रशाशित काश्मिरका बालबालिका।
त्यस क्षेत्रमा लामो समय देखि जारी र ठूलो स्तरको सैनिकीकरणले स्थानीय मानिसहरुको जीवनलाई नराम्ररी प्रभावित गरिदिएको छ। त्यसबाट स्थानीय अर्थतन्त्र तहसनहस भएको छ भने एउटा सिंगो पुस्ताले नै उचित शिक्षादीक्षा र सामान्य जीवनयापनको अवसरबाट बञ्चित हुनु परेको छ।