तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

भारतमा भागदौडमा कैयौंको मृत्यु

13 अक्टोबर 2013 अन्तिम पटक अपडेट गरिएको समय 20:49 NST

भारतको मध्यप्रदेश राज्यमा एउटा धार्मिक समारोहका क्रममा भागदौड मच्चिँदा कम्तीमा उनान्नब्बे जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

अधिकारीहरुले दातिया जिल्लामा एउटा हिन्दु धार्मिक समारोहमा भाग लिइरहेका दशौं हजार तीर्थयात्रुहरुबीच भागदौड मच्चिँदा ती हताहति भएको जनाए।

हिन्दुहरुको प्रमुख चाड नवरात्रि अन्तर्गत महानवमीका दिन रतनगढ माताको मन्दिरमा दर्शन गर्न एउटा साँगुरो पुल पार गर्न खोज्दा उक्त दुर्घटना भएको बताइएको छ।

नवरात्रि भरि नै हजारौं श्रद्धालुहरुले मन्दिरमा दर्शन गरेका थिए।

ग्वालियर-दतिया मार्गमा सवारी साधनहरु जाममा परेका थिए।

भीड

ठूलो भीडमा भागदौड मच्चिँदा कैयौं मानिसहरु किचिएका थिए।

पुलको रेलिङ भाँचिएको र कैयौं मानिसहरुले ज्यान जोगाउन सिन्ध नदीमा हाम्फालेको बताइएको छ।

प्रहरीले हताहतिको संख्या अरु बढन सक्ने आशँका गरेका छन्।

उद्धार कार्यकर्ताहरुले नदीमा डुबेका हुनसक्ने मानिसहरुको खोजी गरिरहेका छन्।

नदीमा बाढी आएकाले उद्धार कार्यमा कठिनाइ भैरहेको बताइएको छ।